मुख्यमन्त्रीको राष्ट्रघाति निर्णयको विरूद्धमा ओली सरकारलाई कांग्रेसको साथ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुरक्षाको सवालमा प्रदेश सरकार केन्द्रसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताएको छ। प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट प्रदेश प्रहरी विधेयक पारित गरेर आफ्नै प्रहरी भर्ना गर्ने प्रक्रिया अगाडि बढाएपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको छ।

मुख्यमन्त्री राउतको यो निर्णयबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय सरकार पनि असन्तुष्ट छ। केन्द्रीय सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले त विधेयक खारेज गर्ने घोषणा नै गरिसकेका छन्। यसरी मुख्यमन्त्री राउतको चौतर्फी विरोध भइरहेका बेला कांग्रेसले पनि एकलौटी भन्दा पनि समन्वय गरेर अघि बढ्न आग्रह गरेको हो।

काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सुरक्षा संवेदनशील विषय भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने बताए। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र, अर्थ र सुरक्षाजस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पारे। पूर्वउपप्रधानमन्त्री गच्छदारले प्रदेशको आन्तरिक सुरक्षाका लागि कानूनसम्मत ढङ्गले प्रदेश सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए।

Comments