कपिलवस्तु । केही दिनयता कपिलवस्तुका सांसद अभिषेक प्रताप शाहको सामाजिक सञ्जालमा खुब आलोचना भयो । उनको चर्को आलोचना हुनुको प्रमुख कारण थियो शाहले दिएको बुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति । सांसद साहले केही दिनअघि एक कार्यक्रमा गौतम वुद्ध भारतमा जन्मिएको भनेर अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएको थियो । उनका बारेमा यस्ता समाचार बाहिर आएसँगै सांसद साहले त्यसको खण्डन गरेका छन् ।उनले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचीत शाहले शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो खण्डन गरेका हुन् । शाहले आफूले गौतम बुद्ध भारतमा जन्मेको भन्ने विषय कहीँ कतै नबोलेको र त्यस विषयलाई प्रोत्साहन पुग्ने कुनै कार्य नगरेको स्पष्ट पारे । भारतको सिद्धार्थनगर जिल्ला अन्तर्गत शोहरतगढको छतहरीमा आयोजित सडक शिलान्यास कार्यक्रममा छिमेकी जिल्लाको सांसदको नाताले आफू सहभागी भएको बताउँदै सांसद शाहले त्यस कार्यक्रममा सहभागी हुँदा लुम्बिनीको बारेमा कुनै चर्चा नभएको बताए ।
आफूलाई पठाइएको निमन्त्रणा कार्ड देखाउँदै सांसद शाहले भने, ‘त्यस निमन्त्रणा पत्र र सम्पन्न कार्यक्रममामा गौतम बुद्धको विषयमा कुनै कुरा उल्लेख गरिएको छैन । आफू केवल सडक निर्माण कार्यको उद्घाटन कार्यक्रममा सहभागी भएको हो ।’ सांसद शाहले भने, ‘गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा नै पर्ने विषय हामी सबै नेपालीका लागि गौरवको विषय हो, तर मलाई लुम्बिनी भारतमा पर्छ भन्ने विषय बोलेको र त्यसको समर्थन गरेको भन्ने झुठो प्रचारसहित केही सञ्चार माध्ययममा समाचार प्रकाशित भयो, त्यस प्रति म निकै दुःखी छु ।’
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भगवान बुद्धको जन्म लुम्बिनी नेपालमा पर्छ भनेर विभिन्न समारोहमा बोलेका कुरालाई अब कसैले तोडमोड गर्न सक्दैन, उनले भने, ‘मलाई हाम्रो लुम्बिनी हाम्रो राष्ट्रिय सम्पदा हो । यसको विकास र प्रचार प्रसार गर्नुपर्छ भन्ने कुरा प्रष्टसँग थाहा छ । यो विषयमा मलाई कसैले सिकाउनु पर्दैन ।’ ‘म सहभागी भएको कार्यक्रमको समाप्ति पछि आफूलाई दिइएको मायाको चिनोमा आफ्नो फोटो समेत प्रकाशित गरी आयोजक संस्थाले लुम्बिनी भारतमा पर्छ भनेर लेखेका रहेछन्, जुन विषय प्रति आफ्नो असहमति रहेको छ’, उनले भने ।
आफूले पाएको मायाको चिनोमा लेखिएको विषय आफूले खासै ख्याल नगरेको र घरमा आएर त्यो विषय आफूलाई थाहा भएपछि लेखिएको व्यहोरा सच्चाउन पत्रसहित आफूले प्राप्त गरेको मायाको चिनो आयोजक समिति सडक परिवहन तथा राजमार्ग मन्त्रालय भारत सरकारलाई फिर्ता पठाइसकेको जानकारी गराए ।
Comments
Post a Comment