
यातायात व्यवस्था विभागले भोलि (मंगलबार) देखि दैनिक २० हजार स्मार्ट सवारी चालक अनुमती पत्र (लाइसेन्स) छाप्ने भएको छ।अधिकांश लाइसेन्स प्रिन्टर बिग्रिएपछि विभागले आउट सोर्समार्फत उक्त परिणामको लाइसेन्स प्रिन्ट गर्ने भएको हो।मेसिन बिग्रिएपछि ब्याकलक (छाप्न बाँकि) करिब ६ लाख पुगेपछि विभागले बिकल्प खोज्दै आउटसोर्समार्फत ब्याकलक हटाउने निणर्य गरेको थियो।विभागबाट लाइसेन्स छाप्ने जिम्मेवारी पाएको मालिका इन्कर्पोरेटले लाइसेन्स छपाईको तयारी र परीक्षण पुरा भइसकेको भन्दै मंगलबार बाट काम सुरू गर्ने जानकारी दिएको हो।स्मार्ट लाइसेन्सको ‘ब्याकलग’ हटाउन मन्त्रिपरिषदले मालिका इन्कर्पोरेट प्रालिलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने अनुमति दिएको थियो।‘सबै तयारी पुरा भइसकेको छ, विभागबाट आवश्यक डाटा (व्यक्तिगत विवरण) पाएपछि भोलिदेखिनै हामी छपाई सुरू गर्छौ,’ मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले भने।
मालिका इन्कर्पोरेटले यातायात व्यवस्था विभागको पछाडिपट्टि रहेको भवनबाट लाइसेन्स छाप्ने व्यवस्था मिलाइसकेको छ।कम्पनीसँग २० वटा प्रिन्टर रहेको भन्दै यसबाट कम्तिमा दैनिक २० हजारसम्म लाइसेन्स छापिने ढकालले दाबी गरे।भोलिदेखि मालिकाले छाप्न ला गेको लाइसेन्सको गुणस्तर यातायात व्यवस्था विभागले यसअघि छापेको भन्दा केही फरक हुनेछ।विभागले लाइसेन्स छाप्दा लेजर इन्ग्रेभिङ (डढाएर अक्षर उठाउने) प्रविधि प्रयोग गरेको थियो भने मालिकाले थर्मल प्रिन्ट प्रविधिमार्फत छाप्ने भएको छ।यो प्रविधिबाट छा पिएको लाइसेन्स अहिले बैंकहरूले बनाउने एटिएम कार्ड जस्तै हुने यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य कुमार ढकालले जानकारी दिए। ‘आउट सोर्सिङमार्फत लेजर इन्ग्रेभिङ प्रविधिमा कार्ड प्रिन्ट गर्दा धेरै महंगो पर्नेभयो। एउटै कार्ड छाप्दा झण्डै १ सय रूपैयाँ पर्ने भएकोले थर्मल प्रिन्ट गर्न लागेका हौ’, उनले भने ‘आउट सोर्सबाट छापेर ब्याकलक हटुउन्जेलसम्म हाम्रो मास प्रिन्टर पनि आइपुग्छ त्यसपछि पुनः लेजर इन्ग्रेभिङ प्रविधिबाटै लाइसेन्स छाप्छौ।’
मालिकाले छाप्ने लाइसेन्स सुरूको ३० हजारसम्म प्रतिकार्ड १३ रूपैयाँ र बाँकिमा प्रतिकार्ड १५ रुपैयाँमा छाप्ने सहमति गरेको छ।प्रिन्टीङ प्रविधि फरक भए पनि कार्ड भने मद्रास प्रिन्ट्सले उपलब्ध गराएको पुरानै प्रयोग हुनेछ।यातायात व्यवस्था विभागले सेवाग्राहीलाई प्लास्टिकको कभर हालेर लाइसेन्स दिने भएको छ। कार्डको अक्षर नमेटियोस् भनेर कभर राखेर लाइसेन्स वितरण गर्न लागिएको महानिर्देशक ढकालले जानकारी दिए।‘पहिलेको लेजर इन्ग्रेभिङ प्रविधिमा डढाएर अक्षर उठाउने भएकोले कुनै पनि हालतमा नउप्कने, नमेटिने हुन्थ्यो। तर, थर्मल प्रिन्ट प्रयोग गरेर लाइसेन्स प्रिन्ट गरेपछि गोजिमा राख्दा र झिक्दा कोरिएला, अक्षर मेटिएला कि भनेर प्लास्टिक कभरमा राखी दिन लागेका हौ’, ढकालले भने।
PREVIOUS
Comments
Post a Comment