यो हो विश्वकै सबैभन्दा लामो र शक्तिशाली पुल, जो बुधबारदेखि खुल्दैछ

एजेन्सी । २० अर्ब डलर लागतमा निर्माण भएको हङकङ र मकाउलाई मेनल्याण्ड चीनको शहर झुहाईलाई जोड्ने पुल यो हप्ता खुल्ने भएको छ । करिब ९ वर्ष लगाएर निर्माण गरिएको सो पुल विश्वकै सबैभन्दा लामो समुद्री पुल हो। चिनियाँ राष्ट्रपति सि जिनपिङ र हङकङ तथा मकाउका शीर्ष अधिकारीहरुले झुहाईमा मंगलबार हुने विशेष समारोहका बीच पुलको उद्घाटन गर्ने बताइएको छ । सर्वसाधरणका लागि बुधबारबाट पुल खुला गरिनेछ । ५५ किलोमिटर लामो यो पुल सन् २०१६ मा नै सम्पन्न गरिने लक्ष्य लिए पनि विभिन्न कारणले केही वर्ष ढिलाइएको थियो ।

यो पुलको निर्माण भएसँगै दुई सहरबीचको दुरी ३ घण्टाबाट ३० मिनेटमा झर्ने भएको छ । यद्यपि, यो पुलको परियोजनालाई लिएर हङकङमा भने विरोधका स्वरहरु सुनिएका थिए । पुलको निर्माणसँगै चीनबाट हङकङले धान्न नसक्ने गरी पर्यटकहरु आउने उनीहरुको चिन्ता रहेको छ । सन् २०१६ मा हङकङमा ५.६७ करोड पर्यटक आएका थिए भने क्षेत्रफलको हिसाबले ठूलो बेलायतमा मात्र ३.७६ करोड पर्यटक भित्रिएका थिए चिनियाँ सरकारका आलोचकहरुले यसलाई हङकङलाई नियन्त्रणमा राख्ने चिनियाँ योजनाका रुपमा व्याख्या गरेका छन् ।

शक्तिशाली पुल: यो पुलले ८ म्याग्निच्युडको भूकम्प, सुपर टाइफुन र कार्गो जहाजको टकरावलाई धान्न सक्ने बताइएको छ । ४ लाख टन स्टील प्रयोग गरेर निर्माण गरिएको यो पुलमा सान फ्रान्सिस्कोको गोल्डन गेट पुलभन्दा ४.५ गुणा बढी स्टील प्रयोग गरिएको छ ।

Comments