
एजेन्सी, कात्तिक ६
२ वर्षअघिको ला लिगा विजेता तथा पछिल्ला ५ मध्ये ४ सिजन युरोपियन च्यामिपयन्स लिग जितेको रियल मड्रिड यतिबेला इतिहासकै खराब अवस्थामा छ । घरेलु लिग ला लिगामा ऊ ९ खेलपछि सातौं स्थानमा थन्किएको छ ।
त्यसक्रममा उसले ४ खेल जित्दा ३ खेल हारेको छ भने २ खेलमा बराबरीमा रोकिएको छ । उसले सबैखाले प्रतियोगिता गरेर पछिल्ला ५ खेलमध्ये ४ खेल हारेको छ ।
रियलको यस्तो खराब अवस्था हुनुमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो नहुनुलाई मुख्य कारण मानिएको छ । किनभने, रोनाल्डो रियलको टोलीमा ‘गोल मेसिन’ थिए ।
यस्तो अवस्थाबीच रोनाल्डो र रियलका खेलाडी इस्कोबीच परोक्ष रूपमा जुहारी चलेको छ । दुवैले युरोपियन च्याम्पियन्स लिगमा तेस्रो खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै एकअर्काविरुद्ध टिप्पणी गरेका छन् । दुवैको टोली आज राति आ–आफ्नो खेल खेल्दैछ ।
पहिला पत्रकार सम्मेलनमा सहभागी भएका इस्कोलाई पत्रकारले रोनाल्डोबारे प्रश्न सोधेका थिए । त्यसक्रममा उनले जो क्लबमा छैन, त्यसको बारेमा आफूहरूले नसोच्ने बताएका थिए ।
‘मैले ड्यानी कार्भाजाल, ग्यारेथ बेललाई सम्झिरहेको छु । क्लबभन्दा बाहिरबाट सुधारको अपेक्षा हामी गर्दैनौं,’ उनले भनेका थिए ।
उनले आफ्नो टोलीमा गतिला खेलाडी रहेको पनि बताएका थिए । ‘रियल मड्रिडमा एकसेएक राम्रा खेलाडी छन् । त्यसैले जो हाम्रो क्लबमा बस्न चाहेन, उसलाई सम्झेर हामी आँसु झार्दैनौं,’ इस्कोले पूर्वटिममेट रोनाल्डोलाई इंगित गर्दै कडा जवाफ दिएका थिए ।
तर, त्यसको केही घन्टाकै बीचमा इंग्ल्यान्डमा युभेन्टसको टोली खेलअघिको पत्रकार सम्मेलनमा सहभागी भयो । त्यसक्रममा रोनाल्डो खेलाडीका तर्फबाट सम्मेलनमा देखिए ।
सोक्रममा रोनाल्डोले बोल्दै इस्कोलाई पनि उस्तै गतिलो जवाफ दिए । ‘धेरै राम्रो, धेरै राम्रो । तिमी रुनु पनि हुँदैन,’ इस्कोलाई जवाफ दिँदै रोनाल्डोले भनेका थिए ।
उनले विगत सम्झेर कसैले रुनु नहुने भन्दै इस्कोलाई सम्झाएका थिए । सोक्रममा उनले आफूमाथि लागेको बलात्कार आरोपको पनि खन्डन गरेका थिए । ‘ममाथि लगाइएको आरोप झुटो हो । मेरा वकिल अहिले यसमा लागेका छन्,’ उनले भनेका थिए, ‘म चाँडै यसबाट बाहिर निस्कँदैछु ।’
रोनाल्डोको टोली युभेन्टस र म्यानचेस्टर युनाइटेडको आज राति १२ः४५ बजेबाट सुरु हुँदैछ ।
Comments
Post a Comment